पाँचथरका ३५ घरपरिवार विस्थापित

असार ४, २०८० | पाँचथर

लगातारको वर्षापछि खसेको पहिरोका कारण पाँचथरका ३५ घरपरिवार विस्थापित भएका छन् । जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ, याङवरक र फालेलुङ गाँउपालिकाका गरी ३५ घर परिवार प्रभावित भएका हुन् । विगत दुई दिनदेखिको वर्षा अझै रोकिएको छैन । याङवरक गाउँपालिका–१ खोलाघारी गाउँबाट पहिरोमा फसेका १० जना स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको छ ।

उनीहरुलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा तत्कालका लागि खाने बस्ने र दैनिक उपभोग्य वस्तुको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो । पाँचथरमा हालसम्म बाढी पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सडक माथिदेखि खसेको पहिरोका कारण मध्य पहाडी लोकमार्गको पाँचथर तेहृथुम सडक खण्डसमेत अवरुद्व भएको छ । यस्तै, अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी हराईरहेका संखुवासभामा २१ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । यस्तै, ताप्लेजुङमा पनि पहिरोमा पुरिएर हराईरहेका तीन जनाको खोजी भईरहेको प्र्रहरीले जनाएको छ । पहिरोका कारण सिदिङवा गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । 


प्रतिक्रिया