आकासे पुल र नगरबस सञ्चालन गर्ने योजना सहित इटहरीले ल्यायो २ अर्ब ३५ करोडको बजेट

असार १०, २०८०

आकासे पुल र नगरबस सञ्चालन गर्ने योजना सहित इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभामा उपप्रमुख संगीता कुमारी चौधरीले चालु आर्थिक बर्षभन्दा १७ करोड बढाएर आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक बर्षका लागि उपमहानगरले २ अर्ब १८ करोड ल्याएको थियो । आगामी आर्थिक बर्षका लागि उपमहानगरले २० वटा वडामध्ये १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँको दरले बजेट उपलब्ध गराएको जनाएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ वडाका लागि सो रकम बराबरको सीमा तोकिएको उपप्रमु्ख चौधरीले बताउनुभयो । 

बाँकी दस वटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । उपमहानगरले आगामी आर्थिक वर्षका लागि इटहरीको मुख्य चौकमा दुईवटा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ । इटहरी वडा नं ६ हुँदै मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट निर्माण गर्न पनि बजेट छुट्याएको छ । नगरको एक मात्र सरकारी अस्पताल इटहरी अस्पतालमा आधुनिक स्वास्थ्य उपकरण एमआरआई, सिटि स्क्यान, भिडियो एक्सरे तथा आईसियु भेण्टिलेटर सहितको शल्यक्रिया कक्ष निर्माण गरि सेवा सञ्चालान गर्न बजेट छुट्याएको छ । 

शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धिलाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्न बजेट विनियोजन गरिएको उल्लेख छ । उपमहानगरपालिका भित्रका सार्वजनिक तथा ऐलानी जमिन संरक्षण गरि ज्येष्ठ नागरिक तथा बालबालिकाका निम्ति हरित पार्क निर्माण गर्न पनि बजेट छुट्याएको छ ।


प्रतिक्रिया