तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ७९ करोड ४५ लाख

असार १०, २०८० | दाङ

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ७ सय ५० रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख स्यानी चौधरीको तर्फबाट प्रवक्ता माधव वलीले आज १३ औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गरेका थिए । चौधरी कार्यक्रमका सिलसिलामा देश बाहिर रहेकाले वलीले बजेट प्रस्तुतिको जिम्मेवारी पाउनुभयो ।

चालुतर्फ ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात कुल बजेटको २६ दशमलब २३ प्रतिशत र पूँजीगततर्फ १ अर्व ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ अर्थात ७२ दशमलब ९३ प्रतिशत विनियोजन भएको उहाँले बताउनुभयो । वित्तिय खर्च १ करोड ५० लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.८४ प्रतिशत हो ।

आन्तरिक श्रोतबाट २१ करोड, स्थानीय तह राजश्व वाँडफाँड तथा मालपोत रजिष्ट्रेशनबाट १२ करोड, ढुंगागिट्टिबाट ३ करोड र विज्ञापन कर १५ लाख गरि आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरिएको वलीले बताउनुभयो ।

संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान २९ करोड ८ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपुरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड, राजश्व बाँडफाँडबाट २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टीबाट १५ लाख गरि १ अर्ब १९ करोड १३ लाख ७१ हजार रुपैयाँ आम्दानी गर्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानिकरण अनुदान २ करोड २३ लाख ४१ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ५० हजार, समपुरक अनुदान २ करोड, राजश्व बाँडफाँड २ करोड ११ लाख ३० हजार ७ सय ५० गरी ८ करोड ७१ लाख २१ हजार ७ सय ५० आम्दानी हुने लक्ष्य अनुमान छ ।

यसैगरी नगरविकास कोषबाट ऋण ११ करोड, युनिसेफबाट अनुदान ४५ लाख, सडक वोर्ड नेपालबाट १ करोड, यूएसएआडी र जिटुजीमार्फत ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरिएको वलीले बताउनुभयो ।

खर्चतर्फ कार्यालय संचालन र प्रशासनिक खर्च २६ करोड ७४ लाख ९१ हजार ४ सय ९१, नगर विकास कोष साँवा व्याज किस्ता भुक्तानी १ करोड ५० लाख, सबै महाशाखा र शाखाहरुको प्रशासनिक र कार्यक्रम खर्च १९ करोड ३७ लाख ५० हजार, वडा स्तरीय प्रशासनिक, योजना तथा कार्यक्रम खर्च ६ करोड ७२ लाख र नगर स्तरीय योजना तथा कार्यक्रम खर्च ४ करोड ८१ लाख १ हजार २ सय ५९ रुपैयाँ रहेको छ ।

संघ प्रदेश र अन्य म्याचिङ खर्च ४ करोड ६० लाख, नगर विकास कोष म्याचिङ २ करोड, गत आ.व.को भुक्तानी बाँकी २७ करोड, संघीय सरकार सशर्त योजना तथा कार्यक्रम खर्च ६५ करोड १३ लाख, संघीय सरकार समपुरक अनुदान योजनाहरु ७५ लाख, संघीय सरकार विशेष अनुदान योजना तथा कार्यक्रमहरुको खर्च १ करोड रहेको वलीले बताउनुभयो ।

प्रदेश सरकारतर्फ सशर्त योजना तथा कार्यक्रमहरुको खर्च २ करोड ३६ लाख ५० हजार, प्रदेश सरकार समपुरक योजना तथा कार्यक्रम खर्च २ करोड, तुलसी ट्रेड टावर निर्माणमा ११ करोड, सरसफाई कार्यक्रम संचालनमा ४५ लाख, सडक वोर्डका योजना तथा कार्यक्रममा १ करोड, युएसएआइडी र जिटुजी कार्यक्रम खर्च ३ करोड ७७ हजार रुपैयाँ अनुमान छ ।

तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम पनि आइतबार नै सार्वजनिक गरेको छ । नगर प्रमुख टिकाराम खड्काले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषी, पशु लगाएतका क्षेत्रलाई प्राथमिकतामा राख्ने नीति प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया