धरानको बजेट १ अर्व ७१ करोड रुपैयाँ

असार १०, २०८० | सुनसरी

धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ कालागि ससर्तसहित १ अर्व ७१ करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । विनियोजन गरिएको बजेटमा साविक गाविस क्षेत्रमा ‘खानेपानी’ लाई प्राथमिकतामा राखिएको छ । साविक गाविसहरु विष्णुपादुका र पंचकन्याकालागि २५ लाख रुपैया बजेट विनियोजना गरिएको छ । बजेटको प्राथमिकताका आधारमा क्रमश: पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई बजेट विनियोजन गरिएको छ । 

आन्तरिक राजस्वबाट ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकार अनुदानबाट ९० करोड २ लाख, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बांडफांडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बांंडफांडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ । ससर्त बजेटसहित उपप्रमुख अइन्द्र विक्रम वेघाले उपमहानगरपालिकाको १३ औं नगरसभामा सार्वजनिक गरेको उक्त बजेटमा सवैभन्दा बढी सामाजिक विकासमा ५४ करोड ८० लाख, पुर्वाधार विकासमा ४३ करोड ५१ लाख ५० हजार, क्रमागत आयोजनाकालागि ३२ करोड ४२ लाख ५० हजार, शिक्षा सम्बन्धी ससर्त कार्यक्रमकालागि ४५ करोड ७३ लाख रुपैया विनियोजना गरिएको छ ।धरान उपमहानगरको आन्तरिक आय २५ करोड रुपैया प्रक्षेपण गरिएपनि २४ करोड कट्न सकेको छैन । गतआर्थिक बर्षमा १ अर्व ६८ को बजेट विनियोजन गरिएको थियो ।

यसैबीच धरान उपमहानवरका २० वटा वडाहरुलाई कुल २१ करोड बजेट सिलिङ गर्दा मेयर कोषमा १ करोड ५० लाख र उपमेयर कोषमा ५० लाखको विनियोजन गरिएपछि विवाद उत्पन्न भएको थियो । 


प्रतिक्रिया