अपहरण गरी ५० लाख फिरौती माग्ने पक्राउ

असार २८, २०८० | सुनसरी

सुनसरीका दुई युवालाई अपहरण गरेर बन्धक बनाई ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बस्ने २९ बर्षीय सन्तोष बस्नेत पक्राउ परेका हुन् । धरानबाट उदयपुर तर्फ जाँदै गर्दा गत सोमबार पक्राउ परेका बस्नेतलाई अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिनको म्याद थप गर्ने अनुमति जिल्ला अदालतबाट पाएपछि प्रहरीले सार्वजनिक गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

प्रहरी नायव उपरिक्षक राजकुमार राईका अनुसार गत वैशाख २५ गते घरायसी सामान खरिद गर्न भारतीय सीमा क्षेत्रमा गएका बेला वराहक्षेत्रका सौगात भण्डारी र छविलाल आचार्य चढेको मोटरसाइकल नियन्त्रणमा लिएर बस्नेतसहित ७ जनाको टोलीले पेस्तोल देखाउँदै उनीहरुलाई अपहरण गरेका थिए । अपहरणपछि बन्धक बनाएर सौगात भण्डारीको परिवारसँंग गत वैशाख २६ गते सो टोलीले फिरौती बापत ५० लाख रुपैयाँ मागेको थियो ।

भण्डारीको परिवारले तत्काल १ लाख ५० हजार रुपैयाँ अपहरणकारीको समुहलाई बुझाएपनि मुक्त नगरेपछि छविलाल र सौगात गत वैशाख २७ गते अपहरणकारीको पञ्जाबाट भागेर नेपाल आउन सफल भएपछि प्रहरीमा उजुरी दिएका थिए । प्रहरी नायव उपरीक्षक राईका अनुसार प्रारम्भिक अनुसन्धानमा २९ बर्षीय बस्नेतले बनाएको योजनाअनुसार उनीहरुको अपहरण भएको खुलासा भएको छ । उनको घरबाट फिरौती वापत दिइएको डेढ लाख रुपैया समेत बरामद भएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न अन्य व्यक्ति भने पक्राउ परेका छैनन् । 


प्रतिक्रिया