ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

असार ३१, २०८०

ज्याला वृद्धिको माग गर्दै झापाका चिया श्रमिक आन्दोलित बनेका छन् । उनीहरुले आजदेखि आन्दोलन सुरु गरेका हुन् । उद्योगीसंग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्याला वृद्धि नगरेको विरोध स्वरुप श्रमिकले आज चिया कारखाना तथा बगानमा कालो झण्डा राखेका छन् । पहिलो चरणमा श्रावण ७ गतेसम्म कालो झण्डा राख्ने, कोणसभा गर्ने लगायतका विरोधका कार्यक्रम तय गरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय संयोजक सन्तकुमार राईले बताउनुभयो । 

श्रावण ७ गतेसम्म पनि ज्याला वृद्धि नभए थप कार्यक्रम तय गरेर आन्दोलनलाई अघि बढाउने उहांले उल्लेख गर्नुभयो । चिया श्रमिकले चार बुंदे माग राखी आन्दोलन सुरु गरेका हुन् । उनीहरुले गत वर्ष असार ५ गते नै श्रम ऐन २०७४ अनुसार ज्याला वृद्धिलगायतको सेवा सुविधा माग गर्दै उद्योगीलाई लिखित पत्र बुझाएका थिए । पत्र बुझाएको एक वर्षसम्म पनि सुनुवाई नभएपछि काम संगै आन्दोलन पनि सुरु गर्नु परेको चिया श्रमिक सावित्रा बन्जाडाले बताउनुभयो ।

श्रमिकले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको आधारमा हाल पाइरहेको पारिश्रमिकले दैनिक जीवन यापन गर्न असम्भव भएकाले उचित ज्याला वृद्धिको माग गरेका छन् । श्रम ऐन २०७४ को दफा १० मा भएको व्यवस्थाअनुसार कार्यरत सबै श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउन समेत माग गरेका छन् । 


प्रतिक्रिया