कञ्चनपुरबाट १६ लाख बढीको सामान बरामद
श्रावण ६, २०८० | कञ्चनपुर
कञ्चनपुरका लालझाडी गाउँपालिका १ नौरंगाबाट भन्सार छली भित्र्याइएको अवैध मालसामान सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गण मातहतको बिओपी दोदाबाट खटिएको टोलीले गएराती १६ लाख बढीको मालसामान बरामद गरेको हो ।
बरामद गरिएको सामानमा २५ क्विण्टल चिनी, प्लाष्टिक झोला र से १ च १२२९ नं.को बोरो पिकअप गाडी रहेको छ । गाडीका चालक कृष्णपुर नगरपालिका ५ का ३० वर्षीय लोकेन्द्र बोहोरा र सहचालक लालझाडी १ का १९ वर्षीय बिशाल बडायक रहेका छन् ।
बरामद गरिएको सामान र पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीको ३५ नं. गणले जनाएको छ ।