गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु, २४ सय ५३ जनालाई वितरण

श्रावण ९, २०८० | गोरखा

जिल्ला प्रशासन कार्यालय गोरखाले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिलो दिन मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नु भएको हो । 

बारपाक सुलिकोट गाउँपालिका–३ का जानुका आले मगर, गोरखा नगरपालिका–१ कि निर्मला ढुङ्गाना र आकृति भट्ट, गोरखा नगरपालिका–३ का सुरज बस्नेतलाई परिचयपत्र वितरण गरिएको हो । २०७७ असार ३१ गतेबाट जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएको थियो ।

हालसम्म जिल्लाभर एक लाख ५९ हजार ६ सय ८९ जनाको विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो । 

विवरण संकलन अभियान अन्तर्गत २०७९ सालमा ११ वटै पालिकामा घुम्ती टोली परिचालन गरी तथ्याङ्क लिइएको थियो । ‘विवरण संकलनको क्रम पनि जारी छ,’ प्रजिअ भुसालले भन्नुभयो, ‘अहिले पहिलो पटक दुई हजार चार सय ५३ जनाका परिचयपत्र आएपछि वितरण सुरु गरेका हौँ ।’

परिचपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यसको उपदेयता पुष्टि हुने गरी सरकारी कामकाजमा प्रयोग हुनुपर्ने बताउनुभयो । सबै नागरिकको विवरण र परिचय खुल्ने गरी बनेको परिचयपत्रको ठूलो महत्व रहेको उहाँको भनाई छ । 

‘राष्ट्रिय परिचयपत्र मार्फत नै सबै ठाउँका सेवा प्रवाहमा प्रयोग हुने गरी यसको उपदेयता पुष्टि गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले सेवा प्रवाह गर्न जाँदा फिँगर प्रिन्ट लिनुपर्ने, विवरण दिनुपर्ने कुराको अन्त्य गरी ब्यवहारीक रुपमा प्रयोगमा लैजाने विषयमा छलफल भइरहेको छ ।’ 


प्रतिक्रिया