कोशी प्रदेश सरकार बिहिन

श्रावण १२, २०८०

कोशी प्रदेश सरकार बिहिन भएको छ । कांग्रेसका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख प्रशुराम खापुङले गरेको निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले हिजो बद्दर गरिदिएपछि प्रदेश सरकार बिहिन अवस्थामा पुगेको हो । सर्वोच्चको आदेशले प्रदेश सरकार असार १७ मा नै पुगेकाले प्रदेश प्रमुख खापुङले तत्कालिन मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीलाई कामचलाउ सरकार तोकेको पत्र दिनुपर्ने कानूनविद्को भनाइ छ । तर प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावी पेश गर्ने निर्णय आज गरेपनि कामचलाउ सरकारको विषयमा मौन देखिएकाले सरकार बिहिनको अवस्थामा पुगेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमा मुख्यमन्त्रीमा उद्धब थापालाई नै राखिउको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार कामचलाउ सरकारको विषयमा प्रदेश प्रमुखबाट कुनै निर्णय नभएको बताउनुभयो । कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले सर्वोच्च अदालतले प्रदेश सरकारलाई असार १७ गतेको अवस्थामा पुर्‍याइदिएकाले आदेश मान्य हुने प्रतिक्रिया दिनुभयो । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री उद्धब थापा नै भएको दावी गर्नु भएको छ । कोशी प्रदेशमा अहिले मुख्यमन्त्री उद्धब थापा नै भएकाले सात दिनभित्र बहुमत सिद्ध गर्ने उहा.को भनार्य थियो ।

एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेशले जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउनु भनेर प्रदेश प्रमुखको नाममा परमादेश जारी गरिसकेकाले यस प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री आफू भएको दाबी गर्नुभयो । आफूलाई नेपाली सेनाको सुरक्षा प्राप्त भइसकेको उहांको भनाई थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउनु मनासिव हुने देखिएको हुंदा साउन १७ गतेभित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू भन्ने परमादेश जारी गरिदिएको छ । यस आधारमा यस प्रदेशको कामचलाउ सरकारको मुख्यमन्त्री कार्की हुने अधिवक्ता डोमन साहले बताउनुभयो । 


प्रतिक्रिया