काठमाडौं महानगरले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णय प्रमाणीकरण गर्दै

श्रावण १३, २०८० | काठमाडौं

काठमाडौं महानगरपालिकाले आफू मातहतका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने निर्णयको भोलिदेखि प्रमाणीकरण गर्दैछ ।

सम्बन्धित वडाका अध्यक्ष वा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णयको प्रमाणिकरण भोलि गर्ने तयारी भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताउनुभयो ।

हाल बहालवाला विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालय भद्रगोल बनाएको, प्रधानाध्यापकलाई विद्यालय सुधारका लागि परिचालन गर्न नसकेको, समिति र प्रधानाध्यापकबीच झगडा पर्दै आएको लगायतका विकृति सुधारका लागि भन्दै समिति भङ्ग गर्ने निर्णय महानगरको नगरसभाले गरेको थियो ।

गत असार ३० गते भएको निर्णय १५ दिनमा प्रमाणिकरण हुन लागेको हो । प्रमुख प्रशासकीय अधिकृतले प्रमाणिकरण गरेसँगै राजपत्रमा प्रकाशित हुने व्यवस्था छ ।

यसैबीच, समिति भङ्ग गर्ने महानगरको निर्णय बिरुद्ध सामुदायिक विद्यालय व्यवस्थापन महासंघले विरोध कायमै राखेको छ । समिति भङ्ग नगर्न महानगरलाई ज्ञापन पत्र समेत बुझाइएको महासंघका अध्यक्ष पूर्णराज मोक्तानले बताउनुभयो ।

वडा अध्यक्षले विद्यालयको बारेमा मात्र समय दिन नसक्ने भएकाले समिति भङ्ग गर्न नहुने भन्दै ज्ञापन पत्र बुझाइएको उहाँको भनाइ छ । महानगरले भने एक वर्षे रणनीतिका साथ समिति भङ्ग गरेर आफू मातहतका विद्यालय सुधारको योजना बनाउने दावी गरेको छ ।

यसअघि भक्तपुरको सुर्यविनायक नगरपालिकाले अघिल्लो कार्यकालमा विद्यालय व्यवस्थापन समिति भंग गरेर वडाध्यक्षलाई अध्यक्ष बनाएको थियो । विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सो निर्णय सफल भएको नगर उप–प्रमुख सरिता तिम्सिनाले बताउनुभयो । 


प्रतिक्रिया