२ कैदी मृत्यु प्रकरणमा ७ कैदी प्रहरी हिरासतमा (अपडेट )

श्रावण २४, २०८० | संखुवासभा

जिल्ला कारागार संखुवासभामा २ जना कैदीको मृत्यु भएपछि प्रहरीले ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र गोदारका अनुसार आज दिउँसो कारागारका १ सय ३६ कैदीबीच झडप भएको थियो ।

सो कारागार २५ जना क्षमताको हो । झडपका क्रममा मृत्यु भएका नुवाकोटको ककनी–७ का आकाश बलामी चोरी मुद्दामा र संखुवासभाको मादी नगरपालिका–५ विनोद तोलांगीका जबरजस्ती करणीमा मुद्दामा सजाय भोगिरहेका थिए ।

राति १ बजेतिर कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रण लिएर उनीहरुलाई कारागारमा भित्र राखिएको केहीबेरमा झडप हुँदा कैदीबन्दी बलामी र तोलांगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, कारागारमा भएको घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । सो घटनापछि जिल्ला कारागार परिसर र बाहिरी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परीचालन गरिएको छ ।


प्रतिक्रिया