जसपाकी लिम्बू पुनः स्वास्थ्यमन्त्री

श्रावण २६, २०८०

कोशी प्रदेशकी नवनियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बूले शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले जनता समाजवादी पार्टी जसपाकी सांसद लिम्बूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । लिम्बूले शपथ ग्रहण गर्ने क्रममा कोशी प्रदेशको नभई प्रदेश १ को स्वास्थ्यमन्त्री भएको उल्लेख गर्नु भएको थियो । गठबन्धन दल कांग्रेसका मुख्यमन्त्री उद्धव थापाले आज बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभन्दा अगाडि गठबन्धन दलबाट १-१ जना मन्त्री हुने पूर्व सहमति अनुसार जसपाकी सांसद लिम्बूले स्वास्थ्य मन्त्रीमा शपथ लिनु भएको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री रहनु भएकी लिम्बूले पहिचान पक्षधरको आन्दोलनमा सरकारले बल प्रयोग गर्न लागएको विरोधमा पार्टीको निर्णय अनुसार पदबाट राजीनामा दिनु भएको थियो । त्यसपछि तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले असंवैधानिक रुपमा बहुमत पुर्‍याएर पहिलो पटक थापा मुख्यमन्त्री नियुक्त हुंदा पनि जसपाले पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रदेश सरकारले सार्वजनिक प्रतिबद्धता नजनाएसम्म सरकारमा सहभागी नहुने अडान लिएको थियो । सर्वोच्च अदालतको आदेशले दोस्रो पटक साउन १७ गते थापा पुनः मुख्यमन्त्री नियुक्त भएपछि पनि जसपाले पूरानै अडान दोहोर्‍याएर सरकारमा सहभागी नभएकाले प्रतिबद्धता पत्र सार्वजनिक गर्न उहां बाध्य हुनुभएको हो । 


प्रतिक्रिया