कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने

भाद्र १, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी सोमबार विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिने बारे जानकारी प्रदेशसभा सचिवालयलाई गराउनु भएको हो । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्तावमाथि प्रदेशसभामा छलफलका लागि आगामी सोमबार दिउंसो १ बजेको समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताउनुभयो । 

कोशी प्रदेशसभा नियमावली अनुसार विश्वासको मत लिने प्रस्तावको छलफल हुनुभन्दा दुई दिन अगावै प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने उल्लेख छ । तर, सो नियमको उपनियममा सचिवले सूचना सभामुख समक्ष पेस गर्ने र सभामुखले बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने दिन र समय तोक्ने व्यवस्था छ । 

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका एक गरी ४७ सांसद छन् । उपसभामुख सहित एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा छन् । 


प्रतिक्रिया