६ बुँदे सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

भाद्र ३१, २०८० | काठमाडौं

सुरक्षा माग गर्दै आन्दोलित नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम फिर्ता लिएको छ । सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएपछि विरोधका कार्यक्रम स्थगित गरिएको हो । काठमाडौंमा भएको वार्तामा सञ्चो अस्पतालका चिकित्सकहरुमाथि भएको कुटपिटमा संलग्नहरुमाथि तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ । सहमतिमा सञ्चो अस्पताल, हेटौंडामा ड्युटीमा रहेका चिकित्सकहरु विकास थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कार्बाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पुर्जी जारी भएका ५ जनासहित अन्य दोषीहरुलाई सोही ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाउने भनिएको छ ।

सहमतिमा चिकित्सक संघले सुरु गरेको विरोधका सबै कार्यक्रम फिर्ता लिने उल्लेख छ । डेंगी भएको बिरामीको उपचारका क्रममा भरतपुरमा मृत्यु भएपछि मृतकको परिवारले भदौ २७ गते उपचारमा लापरवाही गरेको भन्दै चिकित्सकहरुमाथि कुटपिट गरेका थिए । त्यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन २०७९ को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

ड्युटी खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा आजदेखि इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारिएको थियो । सहमतिपछि विरोधका कार्यक्रम फिर्ता भएको छ ।


प्रतिक्रिया