जलवायु परिवर्तनको तयारी र सामनाका लागि भएको वित्त सम्झौता आलोचित
मंसिर ९, २०८१ | काठमाडौं
धनी देशहरूले विकासशील देशहरूलाई जलवायु परिवर्तनको तयारी र त्यसको सामना गर्न गरेको वित्त सम्झौताको अहिले कडा आलोचना भइरहेको छ ।
अजरबैजानको बाकुमा जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औँ कोप सम्मेलनमा सहमति भएको हो ।
धनी मुलुकले विकाशील मुलुकलाई बाकु फाइनान्स गोलका रूपमा ३ सय अर्ब अमेरिकी डलर दिन सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । अजरबैजानमा भएको ३० घण्टा लामो वार्तामा धनी देशहरू २०३५ सम्ममा आफ्नो योगदान प्रतिवर्ष ३ सय अर्ब डलरमा बढाउन सहमत भएका थिए ।
सो सहमतिलाई अफ्रिकी समूह वार्ताकारहरूले धेरै कम, धेरै ढिलो भन्दै टिप्पणी गरेका छन् । यस्तै, भारतबाट पुगेका प्रतिनिधिले सो क्षतिपूर्ति रकम ज्यादै न्यून भएको भन्दै अस्विकार गरेका छन् । गरिब देशहरूले जलवायु विरुद्ध लड्न १ दशमलब ३ ट्रिलियन अमेरिकी डलर मागेका थिए ।