दाङमा बालसाहित्यबारे विमर्श
मंसिर ९, २०८१ | दाङ
बालसाहित्य कस्तो छ ? कस्तो हुनुपर्छ ? कस्तो लेखिनुपर्छ ? बालबालिकालाई साहित्य सिर्जनामा कसरी सामेल गराउने ? यिनै प्रश्नहरुको जवाफ खोज्दै घोराहीमा शनिबार दुई दिने २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन सम्पन्न भएको छ ।
बालबालिकाबारे लेखिएका साहित्य कत्तिको उपयोगी छन् ? बाल मनोविज्ञानबाट लेख्ने काम भएको छ की छैन ? विद्यालयमा पुस्तकालयको अबस्था र पठन संस्कृति कस्तो छ ? बालबालिकालाई सिर्जनशिल काममा जोड्न के कस्ता प्रयास भएका छन् ? भन्ने विषयमा बहस गर्दै सम्मेलनबाट पाँच बुँदे घोषणापत्र पनि पारित गरिएको छ ।
स्थानीय सरकारले साहित्य प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने, विद्यालयले पुस्तकालयको प्रवर्द्धन गर्दै पठन संस्कृति विकास गर्नुपर्ने र स्थानीय भाषा र साहित्यको विकासमा सरोकारवाला जिम्मेवार हुनुपर्ने प्रस्ताव सम्मेलनबाट पारित भएको छ । साथै बालबालिकाको क्षमता विकासमा विद्यालय र अभिभावकले वातावरण निर्माण गर्नुपर्ने र स्थानीय तहलाई बालमैत्री घोषणा गरी बालबालिकाका लागि नतिजामुलक कार्यक्रम तय गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ ।
घोराहीस्थित गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कूलमा सम्पन्न सम्मेलनमा राष्ट्रिय स्तरका ५० बढी साहित्यकारहरु सहभागी भई विभिन्न विषयमा विचार विमर्श गरेको आयोजक नेपाल बाल साहित्य समाजले जानकारी दिएको छ । सम्मेलनमा कृष्णराज सर्वहारीले ‘थारु भाषामा बालसाहित्यको अवस्था’ र सूर्य बीसीले ‘दाङको बालसाहित्यको रुपरेखा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बालसाहित्य र पठन संस्कृति, बालसाहित्यको प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका, सामाजिक संजालले बालबालिकामा पारेको प्रभाव, पुस्तकको भौतिक गुणस्तर र विद्यालयमा पुस्तकालयको भूमिकाबारे विज्ञहरुसँग बहस गरेको स्थानीय कार्यक्रम संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले बताउनुभयो ।
यसका साथै विद्यालय नेतृत्वसँग विद्यालय व्यवस्थापनबारे अन्तर्क्रिया गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी शिक्षक, अभिभावकसँग बालबालिकाको उचित हेरचाहबारे छलफल गर्नुका साथै बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, नृत्यकला, कथावाचन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
यसैगरी पुस्तक प्रदर्शनी, पुरस्कार वितरण, सम्मान र कला प्रस्तुति गरिएको बाल साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रमोद प्रधानले बताउनुभयो । कार्यक्रममा भाषाविद् प्राध्यापक चुडामणी बन्धुलाई सार्वजनिक सम्मान गरिएको थियो । सम्मेलनमा ४ सय ५० बालबालिकालाई सहभागी गराई साहित्य लेखनबारे सीप विकास गराएको स्थानीय आयोजक समितिका सदस्य सचिव सूर्य बीसीले बताउनुभयो ।
कार्यक्रममा कथा, कविता र हस्तलेखन प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति भीमप्रसाद खतिवडाले गर्नु भएको थियो । सिर्जनाको पुस्तान्तरणमा बाल साहित्य सम्मेलन महत्वपूर्ण माध्यम भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति केके कर्माचार्य, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, प्राज्ञ हंशावती कुर्मी, साहित्यकार शशी थापा पण्डित, इन्दिरा दली, गंगा कर्माचार्य, अनन्त वाग्ले लगायतका साहित्यकारहरुको सहभागिता थियो ।
नेपालमा बालसाहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०४४ सालमा पहिलो पटक काठमाडौंमा बाल साहित्यका लेखक, प्रकाशक र चित्रकारहरुको सम्मेलन भएको थियो । सम्मेलनले बाल साहित्य समाज स्थापना गरेको थियो । समाजले प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ । गतवर्ष प्युठानमा २८ औं सम्मेलन सम्पन्न भएको थियो ।