इटहरीको बालग्राममा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१
पूर्वपश्चिम राजमार्ग स्थित इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । इटहरी १६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरित दिशातर्फ जांदै गरेको सवारी साधनले ठक्कर दिदा संखुवासभाको धर्मदेवी निवासी श्रीमान श्रीमतीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक धर्मदेवी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिचान खुलिनसकेको सवारी साधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुई सवारी साधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो । दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकाले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल आसपासमा रहेको अन्य सीसी क्यामेराको सहयोगमा घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।