राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पुजापाठ

आश्विन ८, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गर्नु भएको छ । नेपाली सेनाको विमानबाट विहान जनकपुर पुगेका राष्ट्रपति पौडेल जनकपुर विमानस्थलबाट सोझै जानकी मन्दिर पुग्नु भएको थियो । जानकी मन्दिरमा राष्ट्रपति पौडेललाई मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले स्वागत गर्नु भएको थियो । राष्ट्रपति पौडेललाई मन्दिरमा गर्भगृहमा महन्थ रामतपेश्वर दास आफैंले विशेष पुजापाठ गराउनु भएको थियो । अति विशिष्ठ व्यक्ति पुग्दा मन्दिरको गर्भगृहमा महन्थ दासले नै पुजापाठ गराउने चलन छ । 

यसअघि, जनकपुर विमानस्थलमा राष्ट्रपति पौडेललाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि, आनन्द प्रसाद ढुंगाना र रामकृष्ण यादव र एमालेकी सांसद जुली महतोले स्वागत गर्नु भएको थियो । राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पुजापाठ गरेपछि उहांको सम्मानमा प्रदेश प्रमुख मिश्रले आयोजना गरेको जलपान समारोहमा सहभागि हुनु भएको थियो । राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले अहिले अपरान्ह नागरिक अभिनन्दन गर्दैछ । 

लामो समयदेखि थाती रहेको नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । जनकपुरमा निर्मित महेन्द्र नारायण निधी सांस्कृतिक भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई नगर प्रमुख मनोज साहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । त्यही अवसरमा राष्ट्रपति पौडेलले २३ वर्षअघि निर्माण भएपनि उद्घाटन हुन बांकी रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । २०५७ सालमा शिलान्यास भएर निर्माण थालिएको सांस्कृतिक भवनमा नेपाल प्रहरीको दंगा गुल्मको ब्यारेक थियो । 


प्रतिक्रिया