चिकित्सकहरुको माग सम्बोधन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

आश्विन १२, २०८० | काठमाडौंं

संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुको माग वार्तामार्फत् सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुब्र्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोसीमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताउनुभयो ।संसदीय समितिमा सांसदहरुले चिकित्सकहरुमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुब्र्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बस्नेतको भनाई छ ।समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूति सरकारले दिने प्रतिबद्धता जनाउनुभएयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो । 


प्रतिक्रिया