कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा राजिनामा

आश्विन २०, २०८० | मोरङ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजिनामा दिनुभएको छ । विश्वासको मतका लागि बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले राजिनामा घोषणा गर्नुभएको हो ।

सर्वोच्च अदालतको परमादेशले गत भदौ २२ गते दोसोे पटक मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पदबाट राजिनामा दिए सँगै अर्को सरकार गठनका लागि बाटो खुलेको छ । प्रदेशमा हुने राजनीतिक निर्णयमा केन्द्र हाबी हुँदा समस्या भएको कार्कीले बताउनुभयो ।

राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले दलहरूको अडान कायम रहेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताउनुभयो । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरू सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तिमा ४७ सांसदको समर्थन आवश्यक भएको अवस्थामा बहुमत नपुग्ने भएपछि कार्कीले मुख्यमन्त्रीबाट राजिनामा दिनुभएको हो । कार्कीको राजिनामासँगै कंग्रेस र माओवादी केन्द्रसहितका दलहरुले अर्को सरकार बनाउने गृहकार्य शुरु गरेका छन् ।    


प्रतिक्रिया