धनगढीस्थित सारथी अस्पतालमा आगलागी

मंसिर २, २०८० | धनगढी

कैलालीको धनगढीस्थित सारथी अस्पतालमा गएराति आगलागी भएको छ । अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरमा लागेको आगो फैलिएर अस्पतालमा पनि क्षति पुर्‍याएको हो । 

अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीहरुलाई गएराति नै सेती प्रादेशिक अस्पतालमा सारिएको गरिएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए । 

जोशीले भन्नुभयो, ‘अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरुलाई भने तत्काल सेतीमा सिफ्ट गर्‍यौं ।’ खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको भवनमा सारथी अस्पताल सञ्चालन हुँदै आएको थियो । 

मध्यराति साढे १२ बजे भएको आगो निभाउन धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकलको परिचालन गरिएको प्रहरीले जनाएको छ । साथै, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोली समेत खटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भएर आगो लागेको हो । आगलागीबाट अस्पताल र सँगै जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।


प्रतिक्रिया