लमजुङबाट पक्राउ परेका ८ जना जुवाडे विरुद्ध मुद्दा दायर

मंसिर २, २०८० | लमजुङ

लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ । 

जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयले उनीहरुविरुद्ध शुक्रबार १५ दिनको म्याद थप गरेर अनुसन्धानको लागि प्रहरीलाई अनुमति दिएको छ । कार्तिक २६ मध्यरात स्थानीय लक्ष्मण कुँवरको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार उनीहरुको साथबाट तास सहित नगद १ लाख ६० हजार ६ सय ८५ रुपैयाँ बरामद गरिएको थियो । प्रहरीले सबुत प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धी कसूरमा अनुसन्धानको लागि म्याद थप गरिएको बताउनुभयो । 

मुलुकी अपराध संहिता २०७४, अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउने दुबैलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने र बरामद गरिएको रकम समेत जफत हुने उल्लेख छ । दोस्रो पटक जुवा खेल्ने र खेलाउनेलाई पटकै पिच्छे थप ३ महिनासम्म कैद वा १० हजार रुपैया“सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया