सीमा विवाद समाधान गर्न विज्ञ टोली गठन

पुस ७, २०८०

बर्दिया र कैलालीबीच लामो समयदेखि रहेको सीमा विवाद समाधानका लागि विज्ञ टोली गठन गरिएको छ । बर्दिया र कैलालीमा पर्ने जमिनमा रहेको विवाद समाधान गर्न दुई प्रदेशका मुख्यमन्त्री बीचको सहमति अनुसार विज्ञ टोली गठन गरिएको हो । कर्णाली नदीको सीमाका विषयमा करिव तीन दशकदेखि विवाद हँुंदै आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको बैठकले सीमा विवाद र कर्णाली नदीबाट नदीजन्य वस्तुको उपभोग संरक्षणमा देखिएको विवाद मिलाउन तीन सदस्यीय टोली गठन गरेको हो । 

लुम्बिनी प्रदेशसभाका सदस्य जन्मजय तिमिल्सेनाले आगामी फागुन दोस्रो साताभित्र दुवै प्रदेशका मुख्य सचिव र संवाद समूहका वरिष्ठ सहजकर्ता सहितको विज्ञ टोलीले मुख्यमन्त्रीहरुलाई बुझाउने जिम्मेवारी दिइएको जानकारी दिनुभयो । तीस वर्षअघि देखि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउंँपालिकास्थित कर्णाली नदीले करिब एघार सय बिघा जमिन कटान गरेको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बगाएको एघार सय बढी बिघा जमिनको किसानले अहिले पनि बर्दियामा मालपोत बुझाउंदै आएको बताउनुभयो । विज्ञ टोलीबाट समस्या समाधान हुने प्रमुख थारुले विश्वास व्यक्त गर्नुभयो । 

छलफलमा बर्दियाको राजापुर, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउंपालिका लगायत कैलालीको टिकापुर नगरपालिका, लम्किचुहा नगरपालिका र जानकी गाउंपालिकाका जनप्रतिनिधि र जिल्लाका नापी टोली प्रमुखको सहभागिता थियो । नदीले वर्षेनी धार परिवर्तन गरेकाले नापी हुन नसक्दा दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् । सबैभन्दा बढी सीमा विवाद राजापुर र टिकापुर नगरपालिकामा रहेको हाम्रा सहकर्मीले जनाएका छन् ।  


प्रतिक्रिया