सर्लाहीको बरहथबामा निशेधाज्ञा जारी

पुस २१, २०८०

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा भएको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले भोली बिहान ८ बजेसम्मका लागि निशेधज्ञा जारी गरेको छ । 

नगरपालिका क्षेत्रमा विरोध प्रर्दशनका कारण सार्वजनिक तथा निजी सम्पति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगालगायतका घटनाले शान्ति सुरक्षा भंग हुन सक्ने भन्दै प्रशासनले नगरपालिकाका केही क्षेत्रमा निशेधज्ञा जारी गरेको जनाएको छ ।

प्रशासनले कुनै किसिमको भेला, बाहिर हिंडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरि सीतापुर जाने बाटोको ब्रहस्थान, हजरीया जाने बाटोको नहर, हनुमान मन्दिर र सोती पुलसम्म निशेधज्ञा जारी गरेको हो । स्तरोन्नतिका लागि नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले हिजो गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु हुँदा ८ प्रहरीसहित १० जना घाइते भएका छन् ।

प्रदर्शनकारीले नगरपालिका कार्यालय र नगरप्रमुखको निवासमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाई फायर गरेको थियो । घटनापछि जिल्ला प्रशासन कार्यालयले हिजो साँझ साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाएको थियो । 


प्रतिक्रिया