गोदावरीको ‘बाह्र राशी मकर मेला’मा भक्तजनको घुइँचो

माघ १, २०८० | धनगढी

कैलालीको गोदावरीमा ‘बाह्र राशी दर्शन मकर मेला’ सुरु भएको छ । संक्रान्तिको दिन आज बिहानैदेखि ठूलो संख्यामा श्रद्धालु भक्तजनहरुको गोदावरी धाममा स्थान र पूजाआजाका लागि घुँइचो लागेको छ । 

हरेक वर्ष कुनै एक राशीमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतीकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । उहाँका अनुसार गोदावरीमा हरेक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशी दर्शन मकर मेला आयोजना गर्ने गरिएको छ । 

भारतका राजस्थान, पञ्जाब, दिल्ली, लखनऊ, उत्तराखण्ड, बरेली, हरियाणा लगायत स्थानबाट दर्शनार्थीहरु तीर्थाटनका लागि गोदावरी पुगेका आयोजकले बताएका छन् । धनगढीदेखि २२ किलोमिटर र अत्तरियादेखि ७ किलोमिटर दूरीमा रहेको गोदावरी क्षेत्र सुदूरपश्चिमको महत्वपूर्ण धार्मिकस्थल हो । गोदावरीमा परापूर्वकालदेखि नै पूजाअर्चना र स्नान हुँदै आएको बुढापाकाहरु बताउँछन् ।

चुरेफेदी अनि तराई सुरु हुने स्थानमा रहेको गोदावरी नदी छेउछाउमा उहिल्यैदेखि मन्दिर, धर्मशाला, बौद्ध गुम्बाहरु रहेका छन् । यो नदीमा स्नान गरे पुण्य प्राप्त हुने जनविश्वास रहिआएको स्थानीय स्थानीय बासिन्दाको भनाई छ । 

गोदावरी क्षेत्रलाई सप्त गोदावरी मध्य प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यस क्षेत्रमा भगवान श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख भएकाले पनि यहाँको महिमा बढेको हो । साथै गोदावरीमा भगवान राम भिष्मपितामह र पाण्डवहरुले पनि स्नान गरेको किंबदन्ती छ । 

मेला अवधिभर नौ ग्रह शान्ति महा अनुष्ठान, विशेष पूजापाठ पारायण, लक्ष्य हवन, पितृकर्म लगायत आरती तथा भजन कृतन हुने अध्यक्ष जोशीले बताउनुभयो । 

धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पुजाको व्यवस्था गरिएको जोशीको भनाई छ । बाह्र राशी मेला आइतबारदेखि सुरु भएको हो । यसै सन्दर्भमा गोदावरी नगरपालिकाले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । 


प्रतिक्रिया