कोशी प्रदेशमा स्वास्थ्य नीति बनाउन ढिलाई

माघ ७, २०८० | झापा

कोशी प्रदेशमा स्वास्थ्य क्षेत्र व्यवस्थित गर्ने नीति बनाउने भनिएपनि काम सुरु नहुँदा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् । प्रदेश सरकारले स्वास्थ्य नीति बनाउन ढिलाई गर्दा प्रदेशको स्वास्थ्य समस्या सम्बोधनमा कठिनाई भएको प्रदेश स्वास्थ्य मन्त्रालयले समेत स्वीकार गरेको छ ।

नीतिको अभावमा प्रदेशका प्रादेशिक र जिल्ला अस्पतालमा जनशक्ति व्यवस्थापन, भौतिक निर्माण तथा उपकरण खरिदमा समस्या भइरहेको प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुधा देवकोटाले बताउनुभयो । 

लोकसेवा र प्रादेशिक निजामति ऐन निर्माणमा भएको ढिलाईका कारण स्वास्थ्य नीति निर्माणमा असर परेको देवकोटाको भनाई छ । 

प्रदेशका पूर्व स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश लोकसेवा आयोग ऐनमा स्वास्थ्यबारे कुनै व्यवस्था उल्लेख नभएकाले पनि नीति निर्माणमा ढिलाइ भएको बताउनुभयो । 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले भने स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि नीति निर्माणमा सरकार जुटिसकेको दावी गर्नुभयो । उहाँले प्रदेश सरकार गठनमा केही समय अस्थिरता रहन गएकाले सरकारले गर्नैपर्ने जरुरी कामहरु समेत प्रभावित हुन गएको बताउनुभयो ।


प्रतिक्रिया