राम मन्दिरको प्राण प्रतिष्ठामा कपिलवस्तुका ८ पालिकाद्वारा बिदा

माघ ७, २०८० | कपिलवस्तु

कपिलवस्तुको ८ स्थानीय तहले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाका दिन सोमबार बिदा दिएका छन् । कपिलवस्तु, कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिकाले बिदा दिएका हुन् । 

शुद्धोधन, मायादेवी, यशोधरा र विजयनगर गाउपालिकाले पनि बिदा दिएका हुन् । भगवान रामको विवाह नेपाली छोरी सीतासँग भएकाले राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बिदा दिने निर्णय गरिएको कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताउनुभयो । 

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख आतिथ्यतामा हुने भब्य समारोह हाम्रो गौरबको दिन हो,’ उहाँले भन्नुभयो, ‘त्यसको खुसीयाली नेपालीले पनि साटासाट गर्नुपर्छ । त्यही भएर बिदा दिएका छौं ।’

त्यस्तै भगवान राम नेपालको ज्वाइँ भएकाले राम मन्दिरको प्राण प्रतिस्ठाका दिन बिदा दिईएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहले बताउनुभयो । 

८ वटै स्थानीय तहले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेका छन् । बिदाका दिन सोमबार गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा बिदा दिइएको छ । 

सो दिन पालिकामा अत्यावश्यक बाहेक सबै सेवा बन्द रहने जनाएका छन् । सोमबार सबै स्थानीय तहका राम मन्दिरमा पूजापाठ, रामकथा र रामायणको सुन्दर काण्ड पाठ गरिने कार्यक्रम रहेको कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया