हात्तीको आक्रमणबाट मोरङमा ६ घरमा क्षति

माघ १०, २०८० | विराटनगर

जंगली हात्तीको समूहले गएराति मोरङको मिक्लाजुङ–६ कसेनीमा ६ वटा घरमा क्षति पुर्‍याएको छ । मधुमल्लास्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश कार्कीका अनुसार हात्तीले घर र पसलमा गरेर करीब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । 

राति साढे दुई बजेतिर वस्तीमा छिरेका ६ वटा हात्तीले स्थानीय बलभद्र खड्का, डिल्ली खड्का, लिला बुढाथोकी, ज्ञाननाथ गौतम र गणेश लावतीको घरमा क्षति पुर्‍याएको कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हात्तीले घर, टहरा र पसलमा क्षति पुर्‍याउँदै पसलमा राखिएको वियर खाएको पाइएको छ । ‘वस्ती पसेका ६ मध्ये पाँच वटा हात्ती जंगल छिरे । स्थानीयको छेकाईमा एक हात्ती वस्तीमै रहृयो,’ प्रहरी नायब निरीक्षक कार्कीले भन्नुभयो, ‘त्यही हात्तीले क्षति गर्‍यो ।’ 

स्थानीय किशोर निरौलाका अनुसार गणेश लावतीको पसलमा बिक्रीका लागि राखिएको तीन कर्टुन वियर हात्तीले बोतलसँगै पिएको पाइएको छ ।

पछिल्लो एक महिनादेखि चारकोसे जंगलमा दुई दर्जन बढी जंगली हात्तीको ताँती बसेर मोरङ, सुनसरी र झापाका गाउँमा आतंक मच्चाउदै आएका छन् । यसक्रममा हात्ती बजारमा निस्कने र चुरे पहाड समेत चढन थालेका छन् । 

आइतबार एक हात्ती दमक बजारमा निस्केको थियो भने साताअघि आधा दर्जन हात्ती मधुमल्लाबाट इलामको चुलाचुलीसम्म करीब नौ किलोमिटर टाढा पहाड चढेका थिए । पछिल्लो दुई महिनामा हात्तीको आक्रमणबाट झापामा पाँच, सुनसरी र मोरङमा एक/एक गरी सात जना जनाको ज्यान गइसकेको छ । 

एक महिना पहिला चारकोसे जंगलस्थित मोरङको सुन्दरहरैचा–१० जनजागरण सामुदायिक वनमा जंगली भाले हात्ती मृत फेला परेको थियो । सो हात्तीलाई शिकारीले दुई राउण्ड गोली हानेर मारेको पुष्टि भएको थियो । मारिएको हात्तीको पुछर काटेर लगिएको थियो ।


प्रतिक्रिया