कोशीमा हर्क साम्पाङ सहित ३ जनाले गरेनन् मतदान

माघ ११, २०८० | विराटनगर

राष्ट्रिय सभा निर्वाचनमा कोशीमा तीन स्थानीय तहका प्रमुखले मतदान गरेनन् । मतदान नगर्नेमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउंपालिका प्रमुख जयप्रकाश गच्छदार र झापा गाउंपालिका प्रमुख जय नारायण साह रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

धरानका साम्पाङ स्वतन्त्रबाट निर्वाचित नगरप्रमुख हुन् । कांग्रेसबाट निर्वाचित झापा गाउंपालिका प्रमुख साह अख्तियारमा मुद्धा परेपछि निलम्बनमा परेका छन् भने मोरङ ग्रामथानका गच्छदार विरामीका कारण मतदानमा उपस्थित नभएको बताइएको छ ।

कोशी प्रदेशमा स्थानीय तहका २ सय ७४ जना प्रमुख उपप्रमुख मध्ये २ सय ७१ जनाले मतदान गरेको निर्वाचन आयोगका सूचना अधिकृत तिर्थ अधिकारीले बताउनुभयो । उहांका अनुसार प्रदेश सभाका सबै सदस्यले मतदान गरे । कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् ।

कोशी प्रदेशबाट अन्यमा एक र महिलामा एक राष्ट्रिय सभा सदस्यकालागि मतदान भएको हो । त्यसकालागि सत्ता गठबन्धनवाट अन्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पादेवी कार्की तथा एमाले–राप्रपा गठबन्धनवाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा एमालेकी रुकमणी कोइराला प्रतिष्पर्धी छन् ।

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक प्रदेश सभा सदस्य छन् ।

त्यसैगरी स्थानीय तहतर्फ कांग्रेसका ११५, एमालेका ११०, माओवादी केन्द्रका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना प्रमुख र उपप्रमुख छन् । 


प्रतिक्रिया