भागबण्डामा उपकुलपति नियुक्ति गर्न दिदैनौं : महामन्त्री थापा

केएफएम डेस्क 

माघ १३, २०८० | बिर्तामोड

नेपाली कांग्रेस महामन्त्री गगन थापाले यस पटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति कुनै हालतमा भागबण्डाको आधारमा हुन नदिने बताउनु भएको छ । 

भागबण्डाको आधारमा नियुक्त गरिएका उपकुलपतिहरुका कारण त्रिभुवन विश्वविद्यालयको अवस्था नाजुक बनेको थापाको आरोप छ । 

‘मैले पार्टी सभापतिलाई भनिसकेको छु’, उहाँले भन्नुभयो, ‘यो पटक हामी भागबण्डा बिना उपकुलपति नियुक्त गरौं । भागबण्डा नगर्न प्रधानमन्त्री र अन्य नेताहरुलाई समेत निरन्तर खबरदारी गरिरहेका छौं ।’

शनिबार बिहान झापाको भद्रपुरस्थित मेची पुलमा ‘समुदायमा कांग्रेस संवाद यात्रा’ शुभारम्भ कार्यक्रममा बोल्दै थापाले त्रिविमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न सरकार र नेतृत्वलाई दबाब दिन सबैमा आग्रह समेत गर्नुभयो । 

‘यो पल्ट हामी सबैले प्रधानमन्त्री, पार्टी सभापतिसहित सबै नेतृत्वलाई दबाब बढाउन जरुरी छ’, उहाँले भन्नुभयो, ‘भागबण्डाको उपकुलपति स्वीकार्न हुँदैन ।’ 

संवाद यात्रा शुभारम्भ अगाडि महामन्त्री थापा र केन्द्रीय सदस्य प्रदीप पौडेल शनिबार बिहान ७ बजे भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस पुग्नु भएको थियो । 

मेची क्याम्पसको प्रशंग उल्लेख गर्दै थापाले भन्नुभयो, ‘सबैतिरका क्याम्पसमा विद्यार्थी घटिरहेको अवस्थामा मेची क्याम्पसमा अहिले ४ हजार विद्यार्थी पढिरहेका छन् । यदी हामीले राम्रो र कुशल उपकुलपति ल्याउन सकेनौं भने मेची क्याम्पस पनि रित्तिने अवस्थामा पुग्छ ।’ 


प्रतिक्रिया