झापाबाट ‘समुदायमा कांग्रेस संवाद यात्रा’ सुरु

माघ १३, २०८० | बिर्तामोड

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा ‘समुदायमा कांग्रेस संवाद यात्रा’ झापाको मेची पुलबाट सुरु भएको छ । यात्रा शनिबार बिहान भद्रपुर नगरपालिका–५ मेची पुल नजिकै ५ वटा बिरुवा रोपेर शुभारम्भ भएको हो । 

महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल लगायतले वृक्षारोपण गरेर यात्राको सामूहिक शुभारम्भ गर्नुभयो । 

झापाबाट सुरु भएको संवाद यात्रा पूर्व पश्चिम हुलाकी राजमार्ग हुँदै कञ्चनपुरसम्म पुगेर माघ २६ गते टुंगिने महामन्त्री थापाले जानकारी दिनुभयो ।

कांग्रेस पार्टी स्थापना भएको शुक्रबार ७८ वर्ष पुगेको अवसर पारेर संवाद यात्रा शनिबारबाट सुरु गरेको थापाको भनाई छ ।

यात्राको माघ १६ गते सहिद दिवसका दिन देशभरीका सबै ६ हजार ७ सय ४३ वटै वडामा कार्यक्रम गरी समुदायमा कांग्रेस संवाद यात्राको खास कार्यक्रम औपचारिक रुपमा सुरु हुने थापाले बताउनुभयो ।

यात्राका क्रममा जनताका गुनासा, जिज्ञासाहरु सुन्ने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । पार्टी, सरकार र नेताप्रति जनताका गुनासा र सुझावहरु संकलन गरेर आगामी महासमिति बैठकमा प्रस्तुत गर्ने थापाको भनाई छ ।

यात्राका क्रममा शनिबार झापाका विभिन्न ५ स्थानमा संवाद कार्यक्रम राखिएको छ । यात्रामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कांग्रेस नेता तथा माननीयहरुको सहभागीता रहेको छ । 


प्रतिक्रिया