तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माघ २०, २०८० | तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्ले खोलामा शनिबार बिहान माछा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

माछा गर्ने क्रममा करेन्ट लागेर सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकी–६ ओखले बस्दै आएका २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणका अनुसार सल्यानको शारदा–१२ घर भई हाल शुक्लागण्डकी–६ ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगी र सन्तोष कुमाल बिहान पौने ३ बजेतिर खोलामा माछा मार्न गएका थिए । 

खोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर कुमाल घाइते भएको प्रहरी नायब उपरीक्षक खाँणले बताउनुभयो । 

घाइते कुमाललाई उपचारको लागि जीपी कोईराला श्वासप्रश्वास केन्द्र लागिएको केही समयपछि उनको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया