राजपुर घटनाको आरोपी कांग्रेस नेता आलमको मुद्दाको साक्षी झिकाउन आदेश

माघ २८, २०८०

पहिलो संविधानसभा निर्वाचनको पुर्ब सन्ध्यामा रौतहटको राजपुर गाउंमा भएको बम बिस्फोटको घटनाका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम विरुद्ध दायर मुद्दाको जिल्ला अदालत गौरले साक्षी झिकाउन आदेश गरेको छ । आदेशमा घाइतेको फरेन्सीक जांचको प्रतिवेदन समेत माग गरिएको छ । 

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा आलमको पेसी तोकिएको थियो । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका श्रेस्तादार माधव ढोडारीले जानकारी दिनुभयो । अदालतले बिस्फोटमा घाइते गौरीशंकर रामको स्वास्थ परिक्षणको रिपोर्ट समेत मागेको छ । विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । 

२०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलम उनका भाइ महताब आलम सहित लाई प्रतिवादी बनाइएको थियो । आलमका दाजु भाइ अहिले पुर्पक्षका लागि जेल छन् ।


प्रतिक्रिया