कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु

फाल्गुन ३, २०८० | कपिलवस्तु

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएकामा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

यस्तै कन्चनपुरको भीमदत्त नगरपालिका– १ का २७ वर्षीय राहुलराम विक, वडा नम्वर ४ का २४ वर्षीय उमेश भण्डारी, १६ का सन्जु थापाको घटनास्थलमै मृत्यु भएको हो । अन्य ४ जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परि घाईते ३० जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

महेन्दनगरबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस कपिलबस्तुको शिवराज नगरपालिका १ दोबाटाको घुम्तीबाट गएराती खोलामा खसेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको डिएसपी वलीलाई उदृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन । 


प्रतिक्रिया