एमाले कैलालीको अध्यक्षमा तीन जनाको दाबी

फाल्गुन ६, २०८० | धनगढी

नेकपा एमाले कैलालीको जिल्ला अध्यक्ष पदमा तीन जना आकांक्षी देखिएका छन् । 

आइतबारदेखि सुख्खडमा सुरु हुन लागेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष दुुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुुङ्गाना आकांक्षी देखिएका हुन् । 

एमालले पहिलो पटक अधिवेशन अगाडि नै सहमति खोज्ने प्रयत्नका रुपमा आकांक्षीहरुलाई इच्छापत्र पेश गर्नुुपर्ने विधि तय गरेको थियो । 

इच्छापत्र पेश गरेको चार दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबीच सहमति हुन सकेको छैन । अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले सोही दिन इच्छापत्र पेश गरेका छन् । 

उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गराएका छन् । 

आइतबार मध्याह्न सुरु हुने अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशन दुुई दिनसम्म चल्नेछ ।


प्रतिक्रिया