स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान

फाल्गुन १८, २०८० | दाङ

दाङको घोराहीमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन प्रदेश सरकारले आह्वान गरेको छ ।

सरकारले स्वर्गद्वारी आश्रम र किसानबीचको समस्या समाधानका लागि एक समिति पनि गठन गरेको छ । आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन किसानहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आह्वान गरेको हो ।

स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता सहसचिव गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय समस्या समाधान तथा वार्ता समिति गठन गरेको विज्ञप्तीमा उल्लेख छ ।

दाङका विभिन्न भागमा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भोगचलन गर्दै आएका मोही किसानहरु फाल्गुन ८ गते रातीदेखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडिी २४ घण्टे धर्नामा छन् ।

रातदिन सडकमा बसेर धर्ना दिंदा पनि सरकारले नसुनेपछि हिजो दिउँसो किसानहरु हलोजुवामा नारिएर सडक प्रदर्शनमा उत्रिएका थिए ।


प्रतिक्रिया