बागलुङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, २६ घाइते [अपडेट]

चैत्र ६, २०८० | बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानी भन्ने स्थानमा सोमबार बेलुका भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्या ९ पुगेको छ । दुर्घटनामा चार महिला र ५ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । २६ जना घाइते भएका छन् । 

दुर्घटनामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की २७ वर्षीया विनिता केसी, मुसिकोट–२ का सवारी धनी बबि दलेल नेपाली, मुसिकोट–४ की ३५ वर्षीया टीका केसी, वडा नम्बर–३ की कल्पना केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, रोल्पा घर भएका चालक सुवाष गौतम, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन, रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ का २५ वर्षीय विक्रम परियार र दाङका १८ वर्षीय लक्की पुनको मृत्यु भएको प्रहरीले बतायो । 

सात जनाको घटनास्थलमै, उपचारको लागि लैजाने क्रममा १ र उपचारको क्रममा बुर्तिवाङमै १ जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतक ७ जनाको शव सोमबारै पश्चिम पठाइएको हो । 

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको यात्रुबस साँझ ५ बजेर २० मिनेटमा सडकबाट १५० मिटर तल भीरमा खसेको थियो । 

घटनापछि उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विक नेतृत्वमा उद्दार टोली पुगेको थियो । बस भीर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो । 

घाइतेहरुको भने प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचारपछि ५ जनालाई पोखरा पठाइएको छ भने २१ जना धौलागिरि अस्पतालमा उपचाररत रहेको अस्पतालका चिकित्सक डा. अमित ढुंगानाले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारमा पठाउन तथा घटनास्थलको थप सुरक्षा र उद्धारका लागि विपत व्यवथापन गुल्म बागलुङबाट २० जना, नेपाली सेनाको घोडाबाँधे व्यारेकबाट सहसेनानी चिबबहादुर बुढाथोकीको नेतृत्वमा २५ जनाको टोली पठाइएको थियो । 

उनीहरुले नै घाइतेलाई अस्पतालसम्म ल्याएका थिए । घटनास्थल सदरमुकामदेखि १ सय ३० किमी पश्चिम पर्छ । ओरालो र घुम्ती सडकमा दुर्घटना भएको हो । 


प्रतिक्रिया