बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एकको मृत्यु

चैत्र १२, २०८० | धनगढी

बाजुराको छेडेदह तालमा आइतबार डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिकामा रहेको सो तालमा डुबेर वडा नम्बर–७ लम्गाउँका ३२ वर्षीय वीरेन्द्र रावतको मृत्यु भएको हो । 

सोही डुंगामा सवार अन्य ६ जना भने पौडिएर बाहिर निस्किन सफल भएका थिए । तालमा डुबेर बेपत्ता भएका रावतको शव सुरक्षाकर्मीले आइतबार नै झिकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बोहराले बताउनुभयो । 

उहाँका अनुसार होलीको पर्वको अवसरमा स्थानीय युवाहरु छेडेदह तालमा सयर गर्न गएका थिए । सोही क्रममा उनीहरुले जीर्ण अवस्थामा रहेको डुंगा लिएर तालमा गएको बेला दुर्घटना भएको हो । 

‘दुर्घटनाको मुख्य कारण लापरवाहीले हो भन्ने प्रारम्भिक बुझिन आएको छ’, डीएसपी बोहराले भने ‘लाइफ ज्याकेट लगाएका छैनन्, डुंगा थोत्रो थियो ।’ 

तालको गहिराई १२ फिट भन्दा बढी रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मार्तडी ल्याइएको छ ।


प्रतिक्रिया