नागरिक उन्मुक्तिका गण्डकी र बाग्मती प्रदेशका अध्यक्ष निष्कासित

चैत्र २०, २०८० | धनगढी

नागरिक उन्मुक्ति पार्टीले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष दीप बहादुर योञ्जन तामाङलाई कारबाही गरेको छ । 

पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक चलिरहेको बेला रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको अभियोगमा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई पार्टीबाट निष्कासन गर्नु भएको हो । 

पार्टी अध्यक्ष श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै गण्डकीका अध्यक्ष गुरुङ र बाग्मती प्रदेशका अध्यक्ष तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिनु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा कुन समीकरणमा सामेल हुने भन्ने विषयमा पार्टी संरक्षक रेशम चौधरी र रञ्जिताबीच फरक मत उत्पन्न भएपछि नागरिक उन्मुक्ति भित्रको विवाद सतहतमा आएको हो । 

अध्यक्ष रन्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा हुनुहुन्छ भने संरक्षक रहेका रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारकै पक्षमा देखिएका छन् । 

पछिल्लो समय पार्टीभित्र विवाद बढ्दै गएको र हिजो काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको बैठकमा नेता कार्यकर्ताहरुबीच कुटाकुटको अवस्था सृजना भएको थियो ।


प्रतिक्रिया