पोखरा ल्यान्डफिल साइटमा लागेको आगो नियन्त्रण बाहिर

पोखरा–३२ मा रहेको अस्थायी ल्यान्डफिल साइटमा सोमबार लागेको आगो । तस्बिर : रेडियो कान्तिपुर  

चैत्र २७, २०८० | पोखरा

कास्कीको पोखरा महानगरपालिकाको अस्थायी ल्यान्डफिल साइटमा सोमबार आगलागी हुँदा नजिकैका बस्ती जोखिममा परेका छन् । पोखरा–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटमा सोमबार साँझ ५ बजेदेखि फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।

आगलागीबाट ल्यान्डफिल साइट नजिक रहेका पोखरा–३२ लामेआहाल र पोखरा–३३ छप्ल्याङका बस्ती जोखिममा परेका छन् । आगलागीबाट ल्यान्डफिल साइटसँगै जोडिएको च्याउ फार्ममा समेत क्षति पुगेको छ । 

स्थानीय भुवानी प्रसाद पौडेलका अनुसार ल्यान्डफिल साइटको पुछार सेती नदी किनारबाट सल्किएको आगो फैलिएर बस्ती नजिकसम्म पुगेको हो । 

‘धूवाँको मुस्लो र दुर्गन्धले वरिपरिका स्थानीयलाई बसिनसक्नु भएको छ,’ उनले भने, ‘परपरसम्म पनि धूवाँ र दुर्गन्ध फैलिँदा बाक्लो बस्तीमा आगो पस्ने हो कि भन्ने चिन्ता छ ।’ हावाहुरीका कारण पनि बस्तीमा आगलागी पस्ने सम्भावना रहेको उनले बताए ।

आगो निभाउन महानगरपालिकाको दुई दमकल र एक ट्यांकर पुगेपनि आगो निभाउन विफल भएको छ । ल्यान्डफिल साइट नजिकै राधा कृष्ण वृद्धाश्रम, संस्कृत पाठशाला र मन्दिर समेत रहेको छ । 

महानगरका दमकल इन्चार्ज हर्कबहादुर गायकले ल्यान्डफिल साइटको आगलागी नियन्त्रण बाहिर रहेको बताउनुभयो । ‘हामीले ल्याएको पानी सकिएको छ । सेती नदीबाट पानी ल्याउन सक्ने स्थिति छैन,’ उहाँले भन्नुभयो, ‘ल्यान्डफिल साइटभित्रको आगो नियन्त्रण गर्न नसके पनि बस्तीमा पस्न नदिन खटिएका छौं ।’ 

महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि साविकको ल्यान्डफिल साइट बन्द गरी लामेआहालमा अस्थायी रुपमा फोहोरको व्यवस्थापन गर्दै आएको छ ।


प्रतिक्रिया