हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

वैशाख ४, २०८१ | लमजुङ

जिल्ला प्रशासन कार्यालय लमजुङले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ । 

विभिन्न व्यक्ति तथा संस्थाहरुले हातहतियार राख्नको लागि अनुमति लिने तर, नवीकरण गरेको अभिलेख नभेटिएकाले तोकिएको समयभित्र नवीकरण गर्न प्रशासनले सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नवीकरण नगरिएका हातहतियार स्वतः अवैध हुने भएकाले अवैध हातहतियार राख्नेलाई मुद्दा लाग्ने बताउनुभयो । कार्यालयमा आएर आफूसँग भएका हातहतियार नवीकरण गर्न सकिने उहाँले बताउनुभयो ।

प्रशासनका अनुसार इजाजतपत्र लिएका तर ५ वर्ष भन्दा बढी समयदेखि नवीकरण म्याद गुजार्नेको हकमा भने नवीकरण नहुने भएको छ । ती हातहतियार स्वतः अवैध भइसकेकाले त्यस्ता हातहतियार प्रशासन कार्यालयमा बुझाउन अनुरोध गरिएको छ । ५ वर्षसम्म नवीकरण नगरेका हातहतियार बुझाउन पनि प्रशासनले ३५ दिनभित्र बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुङले आइतबारदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरिएको र तोकिएको समयभित्र नवीकरण नभएमा वा बुझाउनुपर्ने हातहतियार नबुझाएमा कानून बमोजिम कारबाही गरिने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १ हजार बढी नागरिकले विभिन्न समयमा हातहतियार राख्ने अनमुति लिएका छन् । यीमध्ये २ सय ४५ वटा मात्रै नवीकरण छन् । ७ सय ४६ वटा हातहतियार नवीकरण नभएको अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको अवस्थालाई आधार बनाएर जिल्ला प्रशासन कार्यालयले हातहतियार राख्ने अनुमति दिने गरिएको थियो । 

विगतमा गृह मन्त्रालय र राजदरवारको अनुमतिमा समेत हातहतियार राख्ने अनुमति दिने गरिएको थियो । बर्सेनि हातहतियार नवीकरण गर्नुपर्ने भएपनि लमजुङमा हातहतियार नवीकरण नगरेको पाइएकाले ती हातहतियारको अवस्था बारे प्रशासन समेत अनविज्ञ छ ।


प्रतिक्रिया