शुक्लाफाँटामा बाघको संख्या बढ्यो

वैशाख ७, २०८१

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलनामा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर आज गणनाको नतिजा सार्वजनिक गरिएको हो । निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंग बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा बाघको संख्या ३६ थियो । 

३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २÷२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो । १५ दिनसम्म राखिएका क्यामेरामा संकलन भएको तस्विरहरु विश्लेषण गरेर बाघको गणना गरिएको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले संख्या कम भएको र चोरी शिकार हुन सक्ने जोखिम भएको क्षेत्रमा नियमित रुपमा अनुगमन गर्नुपर्ने बताउनुभयो । बाघको संख्या बृद्धिसंगै वासस्थान र आहारा प्रजातीको व्यवस्थापनमा पनि त्यतिकै ध्यान दिनुपर्ने वरिष्ठ संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया