सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक पौडेलविरुद्ध फेरि भ्रष्टाचार मुद्दा

वैशाख ९, २०८१ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विदेशी आवासीय अनुमति पत्रधारी नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्थाविपरीत पौडेल केन्द्रको कार्यकारी निर्देशक बनेका थिए ।

यही अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । पौडेल २ कार्यकाल केन्द्रको कार्यकारी निर्देशक र एकपटक राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनेका थिए । 

पछिल्लोपटक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक रहेकै बखत अख्तियारले २०८० वैशाख ३ मा सेक्युरिटी प्रिन्टिङको उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । पौडेलको यो मुद्दा पनि किनारा लाग्न बाँकी छ ।

मुद्दा विचाराधीन रहेकै बेला गत माघ १० गते उनी र नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन, विदेशी बैंकमा अनुमतिबिना खाता सञ्चालन गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो

। पौडेलद्वय अहिले नियन्त्रणमा छन् । त्यही अनुसन्धानका क्रममा देखिएका तथ्य मध्येको अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको विषय पनि मुद्दाको रुपमा अघि बढेको हो । 


प्रतिक्रिया