कर्णालीमा मन्त्रिमण्डल विस्तार

वैशाख १८, २०८१

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि आज ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिनुभएको हो ।

चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि माओवादी र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गर्नुभयो । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनु भएको छ ।

माओवादीका तर्फबाट महेन्द्र केसीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रीमा वीर बहादुर शाही , दुर्गबहादुर रावतले उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालयको सपथ लिए । माओवादीकै तर्फबाट यसअघि विना विभागीय मन्त्री बनेका रनसिंह परियारले जलस्रोत तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैंले राख्नु भएको छ । 


प्रतिक्रिया