सुदूरपश्चिममामा विश्वासको मत नपाए सत्तासमीकरणबाट बाहिरिने एकीकृत समाजवादीको चेतावनी

वैशाख २३, २०८१

सुदूरपश्चिममा पार्टीका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिए केन्द्रीय सत्तासमीकरण भत्किने एकीकृत समाजवादीले चेतावनी दिएको छ ।

एमालेकोे समर्थन बिना मुख्यमन्त्री सोडारीलाई विश्वासको मत पाउन सकस भइरहेको बेला एकीकृत समाजवादीले सत्तासमीकरणबाट बाहिरिने चेतावनी दिएको हो ।

केन्द्रसँगै अन्य प्रदेशमा आफ्नो पार्टीको सर्मथनमा सरकार बनेको तर सुदूरपश्चिममा गठबन्धनबाटै असहयोग हुनु दुर्भाग्य भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभयो ।

केन्द्रमा भएको सहमति विपरीतका गतिविधि प्रदेशमा अघि बढे सत्तासमीकरणबाट बाहिरिने उपाध्यक्ष पाण्डेले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी एकीकृत समाजवादीलाई निरन्तर अपमान गरिरहेको उहाँको भनाई छ ।

यता एमालेले भने उपनिर्वाचनबाट निर्वाचित सदस्यले सपथ नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएको, विश्वासको मत लिनेसम्बन्धमा आवश्यक छलफल नभएको लगायतका कारण देखाएर तत्काल कुनै निर्णय नभएको जनाएको छ ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ । तर ११ सांसद रहेको एमालेले केन्द्रको निर्देशनमा पर्ख र हेरको नीति अपनाएको छ ।

यसैबीच, एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिनेसन्दर्भमा हतार नगर्न प्रदेश संसदीय दललाई निर्देशन दिनुभएको छ । प्रमुख सचेतक सुरेन्द्र पाल र पूर्वमुख्यमन्त्रीसमेत रहेका दलका नेता राजेन्द्रसिंह रावलसँंगको भेटमा ओलीले विश्वासको मत दिन हतारो गर्न आवश्यक नरहेको बताउनुभएको थियो । 


प्रतिक्रिया