लहानमा बम पड्काएर घरमा डकैती, ६ स्थानीय घाईते

सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा सोमबार राति लुटपाट भएपछि त्रसित स्थानीय महिला । तस्बिर : भरत जर्घामगर/ रेडियो कान्तिपुर 

जेष्ठ १, २०८१ | सिरहा

सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ वटा घरमा लुटपाट भएको छ । गएराति ११ बजेतिर डाँकाको समूहले बम पड्काएर स्थानीय राजदेव यादव, अजय कुमार यादव, रामबाबु ठाकुर, राम अवतार ठाकुर, रामप्रसाद यादव, निरञ्जन यादवको घरमा लुटपाट गरेका हुन् । 

बमको छर्रा लागेर स्थानीय घाईते भएको प्रहरीले जनाएको छ । डाँकाको समूहले नगद र गहना लुटेर लगेका पीडित स्थानीयले बताएका छन् । 

डाँकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाईते भएका योगेन्द्र यादव र निरञ्जन यादवलाई उपचारका लागि विराटनगर पठाईएको छ । अन्य घाईते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवको स्थानीय अस्पतालमा उपचार भईरहेको लहानस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइते रामबाबुका अनुसार डाँका समूह बम पड्काउँदै बस्तीमा प्रवेश गरेका थिए । हतियारसहित आएका डाँका समूहले लुटपाट सुरु गरेपछि स्थानीय प्रतिकारमा उत्रिएका थिए । 

घटना बारेमा अनुसन्धान भईरहेको र डाँका समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

घटनापछि स्थलगत अवलोकन गर्दै लहान नगरपालिकाका प्रमुख महेश चौधरीले डाँकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो । नगर प्रमुख चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिनु भएको हो 


प्रतिक्रिया