लामिछानेविरुद्धको रिटमा आज पेशी

जेष्ठ १६, २०८१ | काठमाडौं

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।

रिट निवेदक अनुपम भट्टराईले ‘लामिछानेविरुद्ध कुनै मुद्दा छैन’ भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्नुभएको छ ।

सो रिटको पेशी आजका लागि तोकिएको हो ।

यसअघि सो रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

दरपीठ बदरको माग गर्दै परेको रिटमा गत बधुबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

सो आदेशपछि अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्नु भएको हो ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानूनी वैधतामाथि प्रश्न उठाइएको छ ।

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले लामिछानेलाई पदबाट हटाउन उपयुक्त आदेश जारी गर्न समेत रिटमा माग गरिएको छ ।


प्रतिक्रिया