पण्डितपुर बुद्धकालिन शहर भएको पुष्टि
पुस १०, २०८१ | नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१८ स्थित ऐतिहासिक पण्डितपुर बुद्धकालिन शहरको संरचना भएको पुष्टि भएको छ । प्राचीन कोलियागण राज्यको महत्वपूर्ण शहर मानिएको पण्डितपुरमा पुरातत्व विभागले तीन हप्तासम्म गरेको उत्खनन्मा सो ठाउँ बुद्धकालिन शहर भएको तथ्य प्रमाणीत भएको हो ।
जियोफिजिक्स सर्भे (भू–भौतिक अध्ययन) का क्रममा देखिएको वुद्धकालिन शहरको संरचना उत्खनन्को क्रममा भौतिक रुपमा नै प्रमाण फेला परेको हो ।
उत्खनन्को क्रममा विभिन्न प्रकारका प्राचीन भाँडाकुँडा, जनावरका मूर्ति, गरगहना, पर्खाल लगायत सामान फेला परेको पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् भाष्कर ज्ञवालीले बताउनुभयो ।
बुद्धकालदेखि मुस्लिम (मुगल) समुदायको बसोबास अवधिसम्मको विविधता पण्डितपुरमा भेटिएको छ । पुरातत्वविद् ज्ञवालीका अनुसार छैंटौं शताब्दीका संरचना भेटिएकाले यो निकै प्राचीन बस्ती भएको विभागको निष्कर्ष छ ।
झन्डै ६२ बिघा क्षेत्रफलमा फैलिएको पण्डितपुर कोलियागण राज्यको राजधानीको रुपमा दाबी गरिँदै आएको छ । सो स्थलको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारले बजेट विनियोजन गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो ।