गण्डकी प्रदेशमा दुई मन्त्री थपिए

जेष्ठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा दुई मन्त्री थप्नुभएको छ । विश्वासको मत दिंदा फ्लोर क्रस गरेका सांसद फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै, स्वतन्त्र सांसद राजीव गुरूङले छैटौंपल्ट मन्त्री बन्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्नुभएको छ ।

दुबै मन्त्रीलाई आज प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराउनुभयो । यसैबीच, मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ । यसअघि गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट टकराज गुरूङ आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री हुनुहुन्छ । 

यसैबीच, गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम केहीबेरमा संसदमा प्रस्तुत हुँदै छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो विश्वासको मत प्राप्त गरेसँगै नीति तथा कार्यक्रमको टुंगो लागेको हो । नीति तथा कार्यक्रममा छलफल पछि असार १ गते बजेट प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।


प्रतिक्रिया