संखुवासभामा पहिरोले ३ घर बगायो

जेष्ठ ३१, २०८१ | संखुवासभा

संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ ।

गएराति अबिरल वर्षासँगै आएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । पहिरोले घर बगाएर विस्थापित भएकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

लामिछानेका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् । खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएको वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिनुभयो ।

चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । यसैबीच, संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको छ । 


प्रतिक्रिया